गहनाको लोभमा २ बुहारीले गरे सासूको हत्या

२२ पुष २०७६, मंगलवार

तम्घास , इस्मा गाउँपालिका–३ सिमपानीमा दुई बुहारी मिलेर सासूको हत्या गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुहारी देवी बिक र लक्ष्मी बिक मिलेर ७६ वर्षीया सासू कौशीलाको हत्या गरेका डिएसपी मिनबहादुर घलेले बताए । हत्याको कारण सासूका गहना लुट्नु रहेको प्रहरीले जनाएको छ । दुई बुहारीले पुस १७ गते कौशिलाको हत्या गरेको आरोप छ ।

बुहारीले नै गोरुले हानेर सासू घाइते भएको भन्दै उपचारका लागि गुल्मी अस्पताल लगेका थिए । कौशीलाको दुई दिनपछि उपचारका क्रममा रुपन्देहीको बुटवलमा मृत्यु भएको थियो ।

टाउकाको चोट हेर्दा गोरुले हानेर लागेको जस्तो नदेखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा दुई बुहारीले मिलेर हत्या गरेको खुलेको छ । आरोपित दुई बुहारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।