कांग्रेसको विवाद सच्याउन सभापति देउवा तयार

२३ पुष २०७६, बुधबार

काठमाडौं ,कांग्रेसभित्र देखिएको विवाद अन्त गर्न सभापति शेरबहादुर देउवा पुस ११ गतेको पार्टी निर्णय सच्याउन तयार भएका छन्। बहुमतबाट गरिएको निर्णय नमान्ने भन्दै जिल्ला सभापति भेला बोलाएको असन्तुष्ट समूहलाई सहमतिमा ल्याउन सभापति देउवा अग्रसर भएका हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन गर्ने र विभाग संख्या बढाउने निर्णय सच्याउनुपर्ने अडान राखेपछि सभापति देउवा सकारात्मक देखिएका हुन्।

‘महाधिवेशनको मिति यथावत राखेर बाँकी कार्यतालिकामा सहमतिका लागि सभापति तयार हुनुहुन्छ,’ कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले भने, ‘उहाँहरुले राखेका असहमतिका सबै विषयमा छलफल गर्न र समाधान निकाल्न सभापतिज्यू सकारात्मक हुनुहुन्छ।’

असन्तुष्ट समूह महाधिवेशन अर्को वर्ष फागुन ७ देखि १० गतेकै मितिमा गर्ने केन्द्रीय समितिको निर्णय मान्न तयार भएपनि आन्तरिक कार्यतालिका संशोधन गर्नुपर्ने, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन गर्ने व्यवस्था हटाउनुपर्ने र भ्रातृसंस्थामा सम्मानजनक हिस्सेदारीको खोजीमा छ।

‘आज क्रियाशील बन्ने अनि भोली मतदाता र उम्मेदवार बन्न पाउने व्यवस्था पार्टी विधि विधान र परम्परा विपरीत छ, यसलाई स्वीकार्न सकिँदैन, क्रियाशील सम्बन्धी अरु धारा निलम्बन गर्नुपर्ने आवश्यकता छैन,’ कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरले भने, ‘एक वर्षभित्रै स्थानीय तहको अधिवेशन र तीन महिनाभित्र प्रदेश र महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने कुरा अलि अव्यवहारिक छ। यसमा पनि सुधार गर्नुपर्छ।’ यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिक मा छ ।