अष्ट्रेलियामा केही महिनादेखि लागेको भिषण आगलागीको धुँवा पृथ्वीभर घुम्ने : नासा

२९ पुष २०७६, मंगलवार

एजेन्सी , अष्ट्रेलियामा केही महिनादेखि लागेको भिषण आगलागीको धुँवा पृथ्वीभर एक फन्को लगाएर फेरि अष्ट्रेलिया पुग्ने नासाले बताएको छ । अहिले धुँवा प्रशान्त महासागरमाथि घुमिरहेको नासाले जनाएको छ ।

नासाका अनुसार धुँवाले नयाँ वर्षको पहिलो दिन दक्षिण अमेरिका पार गरेको र जनवरी ८ सम्म पृथ्वीको आधा भाग घुमिसकेको छ ।

आगोका ज्वालाहरु धेरै विशाल रहेकाले अस्वभाविक रुपमा धेरै आँधीबेहरी ल्याएको छ । नासाको तथ्यांकअनुसार धुँवा आकाशमा १७.७ किलोमिटर माथिसम्म पुगेको छ । ‘त्यति माथिसम्म पुगेको धुँवा संसारभरको आकाशको अवस्थालाई प्रभावित गर्दै पृथ्वी घुम्न सक्छ’ नासाले भनेको छ ।

त्यो धुँवाले वायुमण्डलमा कस्तो असर भन्ने अध्ययन भइरहेको नासाले जनाएको छ । धुँवाका कारण उत्तर अमेरिकाको आकाशको रङ्ग परिवर्तन भएको र न्यूजील्यान्डमा हिउँ खैरो भएको थियो । धेरै ठाउँमा बाक्लो धुँवा फैलिँदा दिउँसै अध्याँरो भएको थियो ।

देशको पूर्वी क्षेत्रमा सयभन्दा बढी स्थानमा आगलागी भइरहेको छ । हालका दिनमा तापक्रम कम भएको र वर्षाले आगो नियन्त्रण गर्न सहयोग पुर्याएको छ ।

अष्ट्रेलियाको धेरै भागमा फैलिएको डढेलोबाट २८ जना मानिसको मृत्यु भइसकेको छ । आगलागीमै परेर करोडौं जनावर मरेका छन् । यसले जलवायु परिवर्तनमा तीव्र असर पुर्याउने विज्ञहरुले बताएका छन् ।