माघ २ देखि एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता हुँदै

२९ पुष २०७६, मंगलवार

काठमाडौं  ,मंगलबार आयोजक एभरेष्ट वल्ड क्लास तेक्वान्दो ब्रान्च नेपालले दोस्रो संस्करणको एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता माघ २ गतेदेखि ४ गतेसम्म हुने जानकारी गराएको छ ।

प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमिको हलमा हुनेछ । आयोजकले पुरुष– महिला ग्योरोरीदेखि १२–१२ समूहका पुम्सेसहित १०० समूहका खेल हुने जनाएको छ । ३ दिन चल्ने प्रतियोगितामा १२ सय खेलाडीहरुले १ सय १० स्वर्ण, १ सय १० रजत र २ सय २० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रथम हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार पाउने छन । दोस्रो हुने टोलीले ५० हजार तथा तेस्रो हुनेले २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन । प्रतियोगितामा उत्कृष्ट हुने महिला र पुरुष खेलाडीलाई जनही १०–१० हजार प्रदान गरिने प्रतियोगिता संयोजक सन्जिव फुयाँलले बताए ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी ७ वटै प्रदेशका उत्कृष्ट तथा विपन्न डोजाङलाई १ लाख ५० हजार बराबरको सामग्री समेत प्रदान गरिनेछ ।