विभिन्न मुलुकका ७० जना बौद्ध गुरु काठमाडौंमा

२५ माघ २०७६, शनिबार

काठमाडौं, नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्धन गर्न चाबहिलस्थित चारुमती विहारमा माघ २५ र २६ गते गर्न लागिएको अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकका ७० जना बौद्ध गुरु काठमाडौँ आएका छन् ।

चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इण्डो चाइना फ्रेण्डसिप एशोसिएशनको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा, कम्बोडिया र लाओसका बौद्ध गुरु बौद्ध साहित्य वाचनका लागि शुक्रबार काठमाडौँ आएका हुन् । स्वदेशी तथा विदेशी भिक्षुले उक्त ग्रन्थका केही वाक्यांशलाई सामूहिक रुपमा पाठ गरी विश्व शान्ति तथा राष्ट्रिय कल्याणका लागि कामना गरिने उक्त कार्यक्रमका लागि नेपालबाट थेरवाद, महायान र बज्रयान सम्प्रदायका करीब १५० बौद्ध गुरु सहभागी हुनेछन् । बौद्ध धर्मको पुरानो ग्रन्थ त्रिपिटक तीन भागमा छन् । त्रिपिटक पाली भाषामा लेखिएको महत्वपूर्ण ग्रन्थ हो । यो अन्य भाषामा अनुवाद गरिएको छ ।

शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि जीवनको अन्तिम समयसम्म दिएका प्रवचन तथा उपदेशलाई बौद्ध शिक्षाका रुपमा सङ्कलन गरिएकाले यसलाई पवित्र कृतिका रुपमा लिइएको छ । उक्त कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको छ । करीब दुई हजार ३०० वर्ष पुरानो मानिएको उक्त विहार तथा त्यस आसपास क्षेत्रमा सरसफाइ गरी मालाले ढकप्प पारी सिङ्गारिएको छ । विहार परिसरमा त्रिपिटक वाचनका लागि समारोह स्थल चिटिक्क पारिएको छ ।

कार्यक्रमको प्रचारप्रसारबाट देशविदेशका बौद्ध धर्मावलम्बीको ध्यानाकर्षण गरी स्वदेशमा धार्मिक पर्यटन अभिवृद्धि हुने विश्वास लिइएको कार्यक्रमका संयोजक भिक्षु तपस्सी धम्मले जानकारी दिए । माघ २५ गते बिहान चारुमती विश्व साइकल यात्रा गरी दिउँसो त्रिपिटक वाचन गरिनेछ ।चाबहिलदेखि शुरु हुने साइकल यात्रा गौशाला, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल स्तूप हुँदै विभिन्न बौद्ध सम्पदास्थलमा पुगेर पुनःकार्यक्रस्थलमा आउने कार्यक्रम छ ।-रासस