कमेडी च्याम्पियनको फिनाले काठमाडौंमा, महजोडी र राजेश हमाल सहभागी हुने

२५ फाल्गुन २०७६, आईतवार

काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फिनाले काठमाडौं उपत्यकामा हुने भएको छ । ललितपुरको बालकुमारीस्थित आफ्नै स्टुडियोमा कमेडी च्याम्पियनको फिनाले हुने निर्देशक विशाल भण्डारीले क्यानडानेपाललाई जानकारी दिए ।

उनकाअनुसार फिनाले हेर्नका लागि इसेवामार्फत तीन हजार शुल्कको टिकट लिनुपर्नेछ । आउँदो चैत १ गते शनिबार अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म तीन घण्टा हुने फिनाले कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र अभिनेता राजेश हमाल पनि सहभागी हुने निर्देशक भण्डारीले जानकारी दिए । कमेडी च्याम्पियनको विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त फाइनलका पुगेका हुन्।

यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानिसकेका थिए । मगर र कोइराला भने भोटबाट छानिएका हुन्। सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्।कमेडी च्याम्पियनको विजेताले २५ लाख नगद र कार प्राप्त गर्ने आयोजकले बताएको छ।