गुल्मीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

६ आश्विन २०७७, मंगलवार

गुल्मी, इस्मा गाउँपालिका-२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरोमा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् ।इस्मा गाउँपालिका-२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव आज बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिरोबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए ।



सडकमा हिँड्दै गरेका अवस्थामा सडकमाथिबाट ठूलो पहिरो खस्दा दुवै पहिरोमा पुरिएर बेपत्ता बनेका थिए । घटनामा स्थानीयवासी तिलक कुमालसमेत घाइते भएका छन् । सोमबार अपराह्न उक्त क्षेत्रमा ठूलो पानी परेको थियो ।