असारदेखि निषेधाज्ञालाई खुकुलो बनाईदै ,

२५ जेष्ठ २०७८, मंगलवार

काठमाडौं,
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ।



सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्यु दरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ। आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमित भन्दा निको हुने दर उच्च हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ।

उनका अनुसार आवश्यकताका आधारमा विस्तारै खुकुलो पार्दै लगिने छ। उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैन।

मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना छ। दाहालले भने, ‘दैनिक जनजीवनसँग जोडिने कुरा प्राथमिकतामा पर्छन्, वर्षाको समय छ, मल बीउ, कृषि कर्म, अत्यावश्यक जनशक्ति व्यवस्थापन, सामग्री ओसारपसार र विकास निर्माणलाई प्राथमिकता दिइने तर पूर्णस्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिनेछ।’ निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा ठूलो सहयोग मिलेको स्वास्थ्य मन्त्रालय बुझाइ छ। त्यसैले पनि एकैचोटी खुला गर्न नहुने पक्षमा मन्त्रालय पनि रहेको छ।

निषेधाज्ञा उलङ्घन गर्दै यही २० गतेदेखि भने मुलुकभर नै मानिसको चहलपहल बढेको पाइएको छ। यातायातका साधनसमेत बाक्लिएका छन्। उपत्यकामा समेत त्यो अवस्था देखिएको छ। अहिले नै लापरवाही गर्ने अवस्था नरहेको जनस्वास्थ्यविद्को भनाइ छ। जोखिम कायमै रहेकाले अझै एक महिना विशेष ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्।

रासस