टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट: आज नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा

२१ चैत्र २०७८, सोमबार

काठमाडौं ,  त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ ।



आयोजक नेपाल र पपुवा न्यूगिनीबीच त्रिवि क्रिकेट मैदानमा फाइनल खेल अपरान्ह १२ः३० बजे सुरु हुनेछ । आज दुबै टोली उपाधि माथि कब्जा जमाउने उद्देश्यका साथ मैदानमा उत्रदैछन् ।

नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो । आज फाइनलमा पपुवा न्यूगिनीलाई हराउँदै नेपालले एकदिवसीय सिरिजको बदला लिने लक्ष्य लिएको छ ।

नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज पपुवा न्यूगिनीले २–० ले क्लिन स्विप गरेको थियो । पपुवा न्यूगिनीले आजको फाइनलमा उपविजेताको रुपमा खेल्न लागेको हो ।

४ खेलमा ३ मा पराजित र एकमा जित हात पार्दै पपुवा न्यूगिनी फाइलनमा पुगेको हो । चार खेलमा ३ मा पराजित र एकमा विजयी बनेको मलेशियालाई नेट रनरेटमा पछि पार्दै पपुवा न्यूगिनी फाइनलमा पुगेको हो ।