आईपीएल टी-२० मा हैदरावादको लगातार दोस्रो हार

२२ चैत्र २०७८, मंगलवार

इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरावादले लगातार दोस्रो हार बेहोरेको छ । गएराति भएको खेलमा लखनउ सुपर जायन्टसँग १२ रनले पराजित भएको हो ।



लखनउले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर एक सय ५७ रन मात्र बनायो । हैदरवादका राहुल त्रिपाठीले ४४, निकोलस पुरणले ३४ र वासिङ्गटन सुन्दरले १८ रन बनाए । लखनउका आभेस खानले चार, जासन होल्डरले ३ र कुर्नाल पाण्डयाले २ विकेट लिए ।

यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर एक सय ६९ रन बनाएको थियो । लखनउका लागि कप्तान केएल राहुलले ६८ र दीपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले । हैदरावादका वासिङ्गटन सुन्दर, रोमारियो शेफार्ट र टी नाटराजनले २–२ विकेट लिए । तीन खेल मध्ये दुईमा जित निकालेको लखनउ चार अङ्कका साथ पाँचौं स्थानमा छ । दुई खेलमा अंक जोड्न नसेकोको हैदरावाद पुछारमा रहेको छ ।