हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज

२४ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । सरकारले हाल परीक्षणका रुपमा लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ । जेठ २३ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मंगलवार गृहमन्त्री बालकृष्ण खाँणले गत जेठ १ गतेबाट लागू हुनेगरी परीक्षणका रुपमा शुरुवात गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज बताएका हुन् ।

मंगलवार मन्त्रीपरिषद्का निर्णय सुनाउँदै गृहमन्त्री खाँणले शिक्षा र स्वास्थ्यमा व्यवहारिक नदेखिएकोले यो निर्णयलाई खारेज गरेको बताए । त्यस्तै सरकारले थाइल्याण्डमा आयोजना हुने गभर्नेन्स एण्ड एन्टीकरप्शनद मेथड एण्ड टुल्स बिहाइण्ड अन इफेक्टिभ करप्शन एर्डिकेशन स्टाटेजी विषयक तालिम कार्यक्रमको अनुगमन र समापन कार्यक्रममा अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्तद्वय किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई सहभागी हुन स्वीकृति दिने भएको छ ।

सरकारले विश्व बैंकबाट हरित उत्थनशील समावेशी विकासका लागि हुने सय मिलियन प्राप्त हुने अमेरिकी डलर करिव १२ अर्ब रुपैयाँ सहुलयित पूर्ण ऋण, सहायता लिन वार्ता टोली गठन गर्ने, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरदविक्रम राणालाई नियुक्त गर्ने, सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने पनि निर्णय भएको गृहमन्त्री खाँणले बताए ।

गृहमन्त्री खाँणका अनुसार सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसद समक्ष पेस गर्न स्वीकृत दिने, हातहतियार खरखजाना ११ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने, सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रकाशचन्द्र गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।