पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा वृद्धि

६ असार २०७९, सोमबार

काठमाडौं , पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा पनि वृद्धि गरिएको छ । सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा वृद्धि गरेको हो ।



जारी सूचनामा यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरेको छ । वृद्धि भएको भाडादर सोमबारदेखि नै लागू हुने पनि विभागले सूचनामा भनेको छ ।

आइतबार राति नेपाल आयल निगमले सूचना जारी गर्दै १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ वृद्धि गरेको थियो । यससँगै पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ । डिजेलको मूल्य २७ प्रतिशत बढेसँगै सार्वजनिक यातायातको पनि भाडा समायोजन गर्न बाध्य भएको विभागले जनाएको छ ।