बुटवलको नयाँ नारा: ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’

८ असार २०७९, बुधबार

बुटवल । बुटवल उपमहानगरपालिकाको नारा परिर्वतन भएको छ । बुधबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेयले आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा यसभन्दा अघिको ‘समृद्ध बुटवल, खुशि बुटवलवासी’ को नारा हटाएर ‘समानता, स्वाभिमान र अवसर बस्नयोग्य बुटवल सहर’ को नारालाई अगाडी सारेका हुन् ।



बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले निर्वाचित हुनु भन्दा अघि धेरै जसो कार्यक्रममा बुटवललाई अवसर र बस्नयोग्य शहरको रुपमा विकास गर्ने बताउँदै आएका थिए । नगर प्रमुखमा निर्वाचित भएसँगै पहिलो पटक बसेको नगरसभामा उपमहानगरपालिकाको ‘समानता, स्वाभिमान र अवसर बस्नयोग्य बुटवल सहर’ नाराको प्रस्ताव अघि सारेका हुन् ।

मुलुक संघीय संचनामा गएपछि पहिलो पटक २०७४ सालमा सम्पन्न निर्वाचनबाट प्रमुखमा निर्वाचित शिवराज सुवेदीले ‘समृद्ध बुटवल, खुशि बुटवलवासी’ को नाराको अवधारण अगाडी सारेका थिए ।