रुपन्देहीमा गोली चल्यो, एकजना युवक घाइते

३० श्रावण २०७९, सोमबार

रुपन्देही,  रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको छ । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले  बताए ।

सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका विकास गुरुङलाई गोली हानेपछि लुटेरा समूहले नजिकै रहेको सिद्धार्थ कटेज (ढावा पसल) बाट पैसा लुटेर भागेका छन् । प्रारम्भिक अनुसन्धानबाट २५ हजार लुटपाट भएको खुलेको एसपी रेग्मीले बताए । गोली हान्नेहरू पल्सर मोटरसाइकलमा आएका थिए । राति पौने १२ बजेतिर गोली प्रहार भएको र घटनाबारे अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए ।

घाइतेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । विकास भन्सारमा सामान पास गराउने काम गर्दै आएका थिए । घटनास्थल नेपाल भारत सिमानाबाट ७ सय मिटरको दुरीमा पर्छ ।