वैदेशिक रोजगारीमा जाने दोब्बरले बढे,

५ आश्विन २०७९, बुधबार

काठमाण्डौ – चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेको छ । चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् भने गएको आर्थिक वर्ष २०७८र७९ को भदौ महिनामा भने जम्मा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा नयाँ, म्यानपावरमार्फत र पुनः श्रम स्वीकृति गरी ६८ हजार ८८४ जना पुरुष र ७ हजार ५१९ जना महिला गरी ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यो सङ्ख्या चालु आर्थिक वर्षको साउन महिनाको भन्दा पनि बढी हो । साउन महिनामा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति लिनेमा ५६ हजार ७९७ जना पुरुष र ६ हजार २४२ जना महिला रहेका थिए । साउन महिनामा भन्दा भदौ महिनामा १३ हजार ३६४ जना बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।