बुटवल कालिका पथ सडकमा रात्रीकालिन बजार सञ्चालन हुने

१८ पुष २०७९, सोमबार

बुटवल,  बुटवलको कालिका पथ सडकमा रात्रीकालिन बजार सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ मा पर्ने कालिका पथ सडक बसपार्क देखि होराईजन चोकसम्म भोली सोमबारदेखि रात्रीकालिन बजार सञ्चालनको लागि बुटवल उपमहानगरपालिकाले अनुमति दिएको हो ।

जस अनुसार तत्काललाई राती ११ बजेसम्म बजार सञ्चालन गरिने छ । बजारमा आउने ग्राहकलार्इ निःशुल्क शौचालयको व्यवस्थापन व्यवसायीले गर्नुपर्ने छ । त्यस्तै पार्किङको लागि बुटवल बसपार्कमा गर्ने नगरप्रमुख पाण्डेले बताए । ‘अहिले बुटवल बसपार्कमा नम्बरको गाडि मात्रै आउने व्यवस्था भएकाले त्यति भिडभाड हुँदैन, रातीको समयमा भएकाले त्यहाँ पार्किङ गर्न सकिन्छ ।’ उनले भने –‘अहिले सुरु गरिहालौं, सुधार गर्नुपर्ने कुराहरु विस्तारै सुधार गर्दै जाउँला ।’ लाईटिङ र सिसिटिभिको पनि तत्काललाई व्यवसायीले व्यवस्था गर्नुपर्ने बताउँदै उनले अर्को वर्षसम्म नगरपालिकाले व्यवस्थित र राम्रो लाईटिङको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कालिका पथ सडकमा रात्रीकालिन बजार सञ्चालनको लागि बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख पाण्डेयले सोमबारदेखि रात्रीकालिन बजार सञ्चालनको लागि प्रस्ताव गरे । संगै व्यवसायीको समर्थनमा भोली देखि नै रात्रीकालिन बजार सञ्चालन गर्ने निर्णय गरिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले जानकारी गराए ।