२४औं विश्व उर्जा सम्मेलनमा भाग लिन मन्त्री पुन आज साँझ युएई जाँदै

२२ भाद्र २०७६, आईतवार

२२ भदौ, काठमाडौं , ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र संयुक्त अरब इमिरेटस् ९युएई०का राजदूत सइद हमदान अल नकी बीच भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय र आपसी सम्बन्धका विषयमा छलफल भएको थियो ।



छलफलमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै युएईका लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रेरित गरिदिन आग्रह गरे । उनले दुई देशबीचको सम्बन्ध परापूर्व कालदेखि नै घनिष्ट रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझै सुमधुर भएर अघि बढ्ने विश्वास व्यक्त गरे । भेटमा राजदूत सहिदले ऊर्जा क्षेत्रमा सरकारसँग काम गर्न युएई इच्छुक रहेको धारणा व्यक्त गरे ।

उनले युएईले पनि तेल र ग्यासको सट्टा ऊर्जामा ध्यान केन्द्रित गर्न लागेको जानकारी दिँदै नेपालमा पनि लगानीको लागी आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । २४ औं विश्व ऊर्जा सम्मेलनमा भाग लिन युएई भ्रमणमा जान लागेका मन्त्री पुनलाई राजदूत सहिदले आइतबार सिंहदरवारस्थित ऊर्जामन्त्रालयमै पुगेर कार्यक्रमबारे जानकारी गराए ।

मन्त्री पुन युएईको तीन दिने भ्रमणमा जाँदै छन् युएईमा आयोजना हुन लागेको २४ औं विश्व उर्जा सम्मेलनमा भाग लिन मन्त्री पुन आइतबार साँझ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । सम्मेलनमा ७० मुलुकका ऊर्जामन्त्रीहरुको सहभागिता हुनुको साथै विश्वभरबाट ५०० भन्दा बढी कम्पनीका कार्यकारी अधिकृत र २५० जना वक्ताहरुको सहभागी समेत रहनेछ ।

१५० देशको सहभागिता रहने उक्त सम्मेलनमा तेल, ग्यास, जलविद्युत, पूर्वाधार, ऊर्जा उत्पादन, वैकल्पिक ऊर्जा, नवीकरणीय ऊर्जा र ग्रिड प्रविधिको विषयमा छलफल हुनेछ । मन्त्री पुन भदौ २६ मा स्वदेश फर्कने कार्यक्रम रहेको प्रमुख स्वकीय सचिव दुर्गा चापागांईले जानकारी दिए ।