असोज १० देखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने

९ आश्विन २०७६, बिहीबार

काठमाडौं । नेपाल राष्ट्रबैंकले दशैलाई लक्षित गरी शुक्रबारदेखि प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही गर्ने तयारी गरेको छ । यसवर्ष करिब १३ अर्ब रुपैयाँ बराबरको सुकिला र नयाँ नोट सटही गर्ने राष्ट्र बैंकले जनाएको छ । यसपटक राष्ट्रबैंकले पहिल्ये नै छापिएका सुकिला नोट समते उपलब्ध गराउने भएको हो ।

प्रत्येक वर्ष दशैको बेला नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यसपटक सुकिला र नयाँ नोट मिलाएर वितरण गर्ने भएको छ । चाडपर्वका बेला वितरण गरिने नोटको हिफाजत नभएपछि यस पटक देखि राष्ट्रबैंकले सुकिला नोट समेत सटही गर्ने भएको हो । राष्ट्र बैंकले एक व्यक्तिलाई ५, १०, २०, ५० र १०० दरका नोट बढीमा १८ हजार ५ सय रुपैयाँ नयाँ नोट र त्यो त्यो भन्दा माथि सुकिला नोट उपलब्ध गराउने जनाएको हो । राष्ट्र बैंकले नयाँ नोटको प्रयोगमा ध्यान दिन सर्वसाधारणसँग आग्रह समेत गरेको छ । नायाँ नोटको हिफाजत नहुँदा वार्षिक ३० करोड रुपैयाँ नोक्सानी व्योहोर्नु परेको राष्ट्र बैंकको भनाई छ ।

बजारमा चलनचल्तीमा जम्मा ५ खर्ब रुपैयाँ बराबरको नोटहरु छन् । सरदरमा कुनैपनि नोटको आयु ३ वर्षको हुन्छ । तर नोटको हिफाजत नहुँदा आयु कम हुने भएकाले राष्ट्र बैंकलाई वार्षिक करौडौं रुपैयाँ नोक्सानी भइराखेको छ । राष्ट्र बैंकले पुराना तथा काम नलाग्ने गरी विग्रीएका नोटलाई जलाएर नष्ट गर्ने गरेको छ । यसपटकको दशैंका लागि असोज १७ गते सम्म राष्ट्रबैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकाश बैंकबाट नोट सटहीको व्यवस्था गरेको छ । तर यसवर्ष बैंकले नोट सटहीमात्र नभएर नोटको हिफाजत गरेर प्रयोग गर्न समेत आग्रह गरेको छ ।