मोटरसाइकल दुर्घटनामा प्रहरी नायब निरीक्षकको मृत्यु ,

११ आश्विन २०७६, शनिबार

फिक्कल- इलामको छाँगेमा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । शनिबार दिउँसो इलामको बरबोटे–सुम्बेक सडकखण्डको छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि मगरको मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका–१ सुनसरी स्थायी घर भएका प्रहरी नायब निरीक्षक मगर आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको इलाम नगरपालिका–५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रामसेवक मोचेको इलाम अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।