मेस्सी चुक्दा बार्सिलोना आफ्नै घरेलु मैदानमा रोकियो

२० कार्तिक २०७६, बुधबार

एजेन्सी, कात्तिक । उपाधिको प्रमुख दाबेदार मानिएको बार्सिलोना युरोपियन च्याम्पियन्स लिगमा बारबरीमा रोकिएको छ । मंगलबार राति भएको समूह चरणको चौथो खेलमा बार्सिलोना आफ्नै घरेलु मैदानमा चेक रिपब्लिक क्लब स्लाभिया प्रहासँग गोलरहित बराबरीमा रोकिएको हो ।

बार्सिलोनाले पाहुना टोलीलाई दवावमा राखेपनि स्लाभियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा गोलविहीन नतिजामा चित्त बुझाउनु पर्यो । बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले गोल गर्ने केही सुन्दर मौका पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

खेलको ११औं मिनेटमा जेरार्ड पिकेको प्रहार बाहिरिदा बार्सिलोना अग्रता लिनबाट चुकेको थियो । त्यसपछि ३५औं मिनेटमा आर्टुरो भिडालको पासमा मेस्सीले प्रहार गरेको थिए । उक्त प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

खेलकाे ४३ औं मिनेटमा भिडालको पासमा मेस्सीले गरेको प्रहार गोलरक्षक ओनरेज कोलारले सहजै बचाए । पहिलो हाफको इन्जुरी समयमा स्लाभियाले गोल गरे पनि अफसाइड भएकाले रेफ्रीले सो गोल रद्द गरेका थिए ।

दोस्रो हाफमा कप्तान मेस्सीले तीनपटक गोलका मौका पाएका थिए । तर, उनी कुनैमा पनि सफल भएनन् । खेलको ५८औं मिनेटमा मेस्सीको पासमा भिडालले गोल गरेका थिए । तर, ग्रीजम्यान अफसाइड पोजिसनमा रहेकाले सो गोल रद्द गरियो ।

७८औं मिनेटमा अन्सु फातीको पासमा मेस्सीको प्रयास गोलरक्षकले विफल पारिदिएपछि निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसक्दा खेल गाेलरहित बराबरीमा टुंगियो ।

यो बरारबीपछि बार्सिलोना समूह ‘एफ’ मा ४ खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा यथावत छ । प्राहा २ अंक जोडेर पुछारमा छ ।