च्याम्पियन्स लिग : गालातासरीकाे पाेस्टमा मड्रिडकाे आधा दर्जन गोल, १८ वर्षीय रोड्रिगोको ह्याट्रिक

२१ कार्तिक २०७६, बिहीबार

काठमाडौं, २१ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले शानदार जित निकालेको छ । बुधबार राति भएको समूह चरणको चौथो खेलमा रियलले टर्किस क्लब गालातासरीलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा रियललाई शानदार जित दिलाउनको लागि १८ वर्षीय ब्राजिलियन युवा खेलाडी रोड्रिगोले ह्याट्रिक गरे । लागि असिस्टसमेत गरे । त्यस्तै, फ्रेन्च फरवार्ड करिम बेन्जेमाले २ गोल गरे भने कप्तान सर्जियो रामोसले पेनाल्टीमार्फत् १ गोल गरे ।

खेल सुरु भएको १४ मिनेटमै रियलले तीन गोल गरेको थियो । खेलको चौथोँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । रोड्रिगोले पहिलो गोल मार्सेलोको पासमा गरेका थिए । यस प्रतियोगितामा यो उनको पहिलो गोल पनि हो । त्यसको ३ मिनेटमै उनले हेडिङमार्फत् व्यक्तिगत दोस्रो गोल गरे । उक्त गोल पनि मार्सेलो कै पासमा गरेका थिए ।

त्यसपछि खेलको १४औं मिनेटमा रियलले पेनाल्टी पायो । कप्तान सर्जियो रामोसले उक्त पेनाल्टीमार्फत गोल गर्दै रियललाई ३-० ले अघि बढाए । पहिलो हाफमो अन्तिममा करिम बेन्जेमाले गोल गर्दै पहिलो हाफमा ४-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८१औं मिनेटमा रियलका लागि बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दा रियलले ५ ० को अग्रता बनायो । बेन्जेमाले ड्यानी कार्भाहालको पासमा गोल गरेका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा रोड्रिगोले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । रोड्रिगोको ह्याट्रिकसँगै रियलले खेल ६-० ले जित्यो । यो जितसँगै रियलले ४ खेलबाट ७ अंक जोडेर समूह ‘ए’को दोस्रो स्थानमा छ । पराजित गालातासरी १ अंकसहित सबैभन्दा पुछारमा छ ।