उपनिर्वाचनको यस्तो छ तालिका

२१ कार्तिक २०७६, बिहीबार

काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार प्रतिनिधिसभा र प्रदेशसभातर्फको मनोनयन पत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रम अनुसार बिहीबार मनोनयन पत्र दर्ता हुँदैछ । त्यसपछि अन्य प्रक्रिया अगाडि बढ्ने छ ।

प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ सदस्यका लागि उपनिर्वाचन हुँदैछ । कास्की २ को प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत बागलुङ –२, दाङ –३ र भक्तपुर –१ मा निर्वाचन हुँदैछ । त्यसकै लागि मनोनयन दर्ता हुन लागेको हो ।

यस्तो छ २५ गतेसम्मको कार्यक्रम
बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ ।

–बिहीबारै दिउँसो १ः३० देखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ ।

–कार्तिक २२ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम छ ।

–कार्तिक २३ गते बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझको समय रहेको छ ।

–२३ गते दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

– कार्तिक २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय छुट्टाइएको छ ।

– २४ गते दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

– कार्तिक २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

३७ जिल्लाका ५२ स्थानमा हुने उपनिर्वाचनमा १०१ राजनीतिक दलले प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य–३, स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाध्यक्ष–४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

स्थानीय तहको निर्वाचनको कार्यतालिका प्रतिनिधिसभा र प्रदेशसभाको सकिएपछि सुरु हुनेछ ।