छिट्टैनै प्रदेश खेलकुद परिषदले पुर्णता पाउँछ : मन्त्री बराल

२४ कार्तिक २०७६, आईतवार

बुटवल, २४ कार्तिक । प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अबको केही महिनामा प्रदेश खेलकुद परिषदलाई पुर्णता दिनेतर्फ प्रदेश सरकार लागि परेको बताएका छन् । नेपाल मार्सल आर्टस हाप्किडो संघ प्रदेश नं. ५ को पहिलो अधिबेशनलाई सम्बोधन गर्दै उनले खेलकुद परिषद्लाई पुर्णता दिदै विभिन्न खेलकुदका गतिविधिहरु गर्ने तयारी गरेको उनले बताए । उनले खेलकुदको विकास र खेलकुद क्षेत्रमा लगानी बढाउनका लागि परिषद आवश्यक रहेको उल्लेख गर्दै खेदकुद परिषदलाई पुर्णता दिनुको विकल्प नभएको बताए ।

संघको आईतबार बुटवलमा भएको भेलाले रुपन्देहीका धनबहादुर दमाईको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति चयन गरेको छ । सम्पन्न अधिवेशनले समितिको प्रदेश उपाध्यक्षमा विश्वास गुरुङ्ग र यमु थापा, सचिवमा भुवन बुडामगर र कोषाध्यक्षमा मुक्ति पोखरेललाई चयन गरेको हो । त्यसैगरी सदस्यमा यमुना घर्तिमगर, रामु सुनार, रमेश महरा, राधा पौडेल, देवु थापा, टुल्केबहादुर थापा र सागर खवार रहेका छन् ।

कार्यक्रममा नेपाल मार्सल आर्टस हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालिबहादुर घर्तिमगर, नेपाल कपडा ब्यवसायि संघका अध्यक्ष सरोज गौतम, लोकबहादुर परियार लगायतले नव निर्वा्चित प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना दिएका थिए । रुपन्देही, पाल्पा, नवलपरासी, अर्घाखाँची, गुल्मी, कपिलबस्तु, बाँके, वर्दिया, दांङ्ग, प्यूठान, रोल्पा लगायतका जिल्लाबाट प्रतिनिधिहरु सहभागि भएको कार्यक्रमको संचालन मुक्ति पोखरेलले गरेका थिए ।