नमस्ते नेपाल रुपन्देहीले आयोजना गरेको खुल्ला समिक्षा एवं वृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा

२६ कार्तिक २०७६, मंगलवार

बुटवल, २६ कात्तिक । नैतिकवान विवेकशिल व्यक्तित्व, अबको नेपाल युवाको नेतृत्व भन्ने मुल नाराका साथ स्थापना भएको नमस्ते नेपाल रुपन्देहीले आयोजना गरेको खुल्ला समिक्षा एवं वृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको संस्थाका अध्यक्ष अर्जुन खरेलले बुटवल अनलाइनलाई जानकारी दिए ।

बुधबार शंकरनगर चोकमा कार्यक्रम आयोजना गरिएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य विष्णु पौडेल, प्रदेश सभा सदस्य लिला गिरी र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेब घिमिरे लगायतले सम्बोधन गर्नेछन् ।

वर्तमान सरकार बनेको २ वर्षमा चुनाबको समयमा नेताहरूले गरेका प्रतिवद्धता (बाचा) कति पुरा भए, जनताले चुनेका जन प्रतिनिधिहरूले जनताका समस्याहरू कति समाधान गरे ? जनप्रतिनिधिको कामबाट जनताहरू कति सन्तुष्ट छन् लगाएका बिषयमा छलफल हुने अध्यक्ष खरेलले बताए ।

यस क्षेत्रमा यस्तो कार्यक्रम पहिलोपटक आफुहरुले गर्न लागेको उनले दाबि गरे । संस्थाले चुनाब अगाडी चुनाबी प्रतिवद्धता घोषणा कार्यक्रम गरेको थियो त्यसैलाई निरन्तरता दिदै २ वर्षपछि समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा जन गाएक जीवन शर्मा लगाएत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको समेत बिशेष प्रस्तुति रहनेछ । युवाहरूको संजाल भएको नमस्ते नेपालले विगतमा पनि विभिन्न सामाजिक कामहरू गर्दै आईरहेको छ ।